काठमाण्डौ । निरन्तरको वर्षापछि आएको बाढीले जलविद्युत् आयोजनादेखि प्रसारण तथा वितरण संरचनासम्म प्रभावित हुँदा देशको विद्युत् प्रणालीमा ठूलो असर परेको छ। असोज ८ गतेदेखि जारी वर्षाका कारण गण्डकी प्रदेशका मात्रै २७ वटा जलविद्युत् उत्पादन केन्द्र बन्द भएका छन् भने करिब १ हजार मेगावाट विद्युत् उत्पादन प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
बाढीका कारण प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् प्रवाह गर्न नसकिएको तथा नदीमा पानीको बहाव अत्यधिक बढेपछि सुरक्षाका लागि कतिपय आयोजना बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ।
बाढीबाट सबैभन्दा ठूलो असर २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइनमा परेको छ। प्रसारण लाइन अवरुद्ध भएपछि त्यसबाट विद्युत् प्रवाह हुने १३ वटा उत्पादन केन्द्रका ३५८ मेगावाट बराबरको विद्युत् उत्पादन बन्द गरिएको छ।
म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्राधिकरणले जनाएको छ। कुस्मा–नयाँ बुटवल खण्डमा समेत समस्या देखिएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार कालीगण्डकी करिडोरको क्षतिग्रस्त प्रसारण लाइन मर्मत गर्न केही दिन लाग्न सक्नेछ। अन्य सम्भावित क्षतिग्रस्त क्षेत्रमा समेत प्राविधिक टोली परिचालन गरिएको उनले जानकारी दिएका छन्।
प्रसारण लाइनको क्षतिसँगै नदीमा पानीको बहाव अत्यधिक बढेपछि सुरक्षाका लागि थप १४ वटा उत्पादन केन्द्र बन्द गरिएको छ। म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँमा रहेका यी आयोजनाबाट करिब ६३० मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको प्राधिकरणले जनाएको छ।
कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अप्पर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्य मर्स्याङ्दी, मर्स्याङ्दी र मोदीलगायत आयोजनाको उत्पादन नदीमा आएको उच्च बहावका कारण रोकिएको छ।
यसरी प्रसारण लाइनमा आएको अवरोध र आयोजनाको सुरक्षाका लागि गरिएको बन्दका कारण समग्रमा करिब १ हजार मेगावाट विद्युत् उत्पादन प्रभावित भएको हो।
कालीगण्डकीमा आएको बाढीले केही दिनअघि मात्रै उत्पादन सुरु गरेको राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमा समेत क्षति पुर्याएको छ।
जलविद्युत् आयोजनाहरूमा उत्पादन सुरु भएलगत्तै प्राकृतिक विपद्का कारण संरचनामा क्षति पुग्दा विद्युत् उत्पादन र प्रसारण प्रणालीको जोखिमसमेत उजागर भएको छ।
बाढी तथा पहिरोले उत्पादन आयोजनासँगै प्रसारण र वितरण संरचनामा समेत क्षति पुर्याएको छ। २२० केभी र १३२ केभीका प्रसारण संरचनाका साथै ३३ केभी र ११ केभीका वितरण संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ।
क्षतिका कारण मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ पूर्ण रूपमा विद्युत्विहीन भएका छन्। प्युठान, रुकुम पूर्व र रोल्पामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ।
प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्था पहिचान गरी विद्युत् आपूर्ति पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरेको जनाएको छ।
बाढीको असर गण्डकीमा मात्र सीमित छैन। लुम्बिनी, मधेश तथा कर्णाली प्रदेशका प्रसारण र वितरण सञ्जालमा समेत क्षति पुगेको छ।
मधेश प्रादेशिक कार्यालयअन्तर्गतका विभिन्न स्थानमा डुबानका कारण ७८ वटा विद्युत् पोल ढलेका छन् भने १४ वटा वितरण ट्रान्सफर्मरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
बाढीका कारण विद्युत् क्षेत्रमा अहिले एकैपटक दुईवटा चुनौती देखिएका छन्—प्रसारण संरचनाको क्षति र उच्च जोखिममा रहेका जलविद्युत् आयोजनाको उत्पादन रोक्नु।
प्राधिकरणले सम्भावित जोखिमबाट आयोजना तथा उपकरण जोगाउन कतिपय आयोजनाको उत्पादन बन्द गरेको छ। अर्कोतर्फ प्रसारण लाइनका टावर तथा वितरण संरचना क्षतिग्रस्त हुँदा उत्पादन गर्न सकिने विद्युत् समेत उपभोक्तासम्म पुर्याउन कठिन भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।