आईतवार, भाद्र २८,२०८३ 09:05:07
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 09:05:07
Bizshala
Global IME Bank Limited

घोटाला र खराब कर्जाको घेरामा प्रभु बैंक, इक्राले देख्यो मध्यम ‘डिफल्ट रिस्क’ !

घोटाला र खराब कर्जाको घेरामा प्रभु बैंक, इक्राले देख्यो मध्यम ‘डिफल्ट रिस्क’ !
New Office

काठमाण्डौ । उच्च व्यवस्थापन जोडिएका विवादास्पद कर्जा प्रकरण र लगातार बिग्रिँदो वित्तीय स्वास्थ्यले प्रभु बैंकलाई थप संकटतर्फ धकेलेको छ। खराब कर्जाको बोझ थेग्न नसक्ने गरी बढेपछि इक्रा नेपालले बैंकको रेटिङ घटाउँदै नकारात्मक निगरानीलाई निरन्तरता दिएको हो।

इक्राले प्रभु बैंकको इस्युअर रेटिङ ‘आईसीआरएएनपी–आईआर बीबी प्लस’बाट घटाएर ‘बीबी’मा झारेको छ। बैंकले जारी गरेको एक अर्ब रुपैयाँको सबअर्डिनेटेड डिबेन्चरको रेटिङ पनि ‘एलबीबी प्लस’बाट ‘एलबीबी’मा घटाइएको छ।

यो रेटिङले बैंकका वित्तीय दायित्व समयमै भुक्तानी हुने विषयमा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।

Source: Icra Nepal

रेटिङ घट्नुको मुख्य कारण बैंकको सम्पत्ति गुणस्तरमा अनुमानभन्दा तीव्र गिरावट आउनु हो। गत असार मसान्तसम्म प्रभु बैंकको कुल निष्क्रिय कर्जा १५.५५ प्रतिशत पुगेको छ। यो वाणिज्य बैंकहरूको ५.५६ प्रतिशत औसतभन्दा झण्डै तीन गुणा र बैंकिङ उद्योगमै सबैभन्दा उच्च हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

गत वर्षको असारमा ७.०१ प्रतिशत रहेको खराब कर्जा पुसमा ७.९४ प्रतिशत पुगेको थियो। त्यसपछिको ६ महिनामै यो दोब्बर हाराहारी बढेर १५.५५ प्रतिशत पुगेको हो। खुद निष्क्रिय कर्जासमेत १.७६ प्रतिशतबाट उफ्रिएर ६.९६ प्रतिशत पुगेको छ।

यसको सबैभन्दा डरलाग्दो असर बैंकको नेटवर्थमा परेको छ। खुद खराब कर्जाको भार नेटवर्थको ४३.४८ प्रतिशत पुगेको छ। एक वर्षअघि यो अनुपात ११.५९ प्रतिशत र गत पुसमा १९.१ प्रतिशत मात्र थियो। इक्राले यो अवस्थालाई ‘चिन्ताजनक रूपमा उच्च’ भन्दै बैंकको ऋण तिर्न सक्ने आधार र थप पूँजी जुटाउने क्षमतामाथि प्रश्न उठाएको छ।

खराब कर्जा बढे पनि त्यसलाई थेग्ने प्रोभिजन कभरेज विगतको ७५–८० प्रतिशतबाट घटेर करिब ६० प्रतिशतमा झरेको छ। हालका खराब कर्जा न्यून प्रोभिजन आवश्यक पर्ने प्रारम्भिक बकेटमा रहेकाले भविष्यमा थप प्रोभिजन गर्नुपरे बैंकको नाफा र पूँजी अझै दबाबमा पर्नेछ।

बैंकको टियर–१ पूँजी अनुपातसमेत ८.१७ प्रतिशतमा झरेर राष्ट्र बैंकले तोकेको न्यूनतम ८.५० प्रतिशतको सीमा उल्लंघन भएको छ। समग्र पूँजीकोष अनुपात पनि ११.८३ प्रतिशतमा सीमित छ, जुन ११ प्रतिशतको नियामकीय सीमाभन्दा थोरै मात्र माथि हो।

इक्राले टियर–१ पूँजीको सीमा उल्लंघनले तत्काल ठूलो वित्तीय असर नदेखिए पनि स्वदेशी तथा अन्तर्राष्ट्रिय स्रोतबाट रकम जुटाउने क्षमता र बैंकको प्रतिष्ठामा गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ।

बैंकको नाफामा पनि बेथितिको मूल्य देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रभु बैंकले २४ करोड १० लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ। अघिल्लो वर्ष बैंकले ८७ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो। खराब कर्जाबापतको खर्च बढ्नु र ब्याज आम्दानीको मार्जिन कमजोर बन्नु घाटाका प्रमुख कारण हुन्।

इक्राले प्रभु बैंकका तत्कालीन उच्च व्यवस्थापन संलग्न रहेको भनिएको अप्रत्यक्ष सम्बन्धित पक्ष कर्जा प्रकरणमाथि जारी अनुसन्धानलाई समेत निगरानीमा राखेको छ। सीईओदेखि उच्च तहका अधिकारी जोडिएका कर्जा विवादले बैंकको सुशासनमाथि यसअघि नै गम्भीर प्रश्न उठाइसकेको अवस्थामा अनुसन्धानको नतिजा बैंकका लागि थप संवेदनशील बन्ने देखिन्छ।

बैंकसँग ४३ प्रतिशत खुद तरल सम्पत्ति, ६८ प्रतिशत कर्जा–निक्षेप अनुपात र ६२ प्रतिशत कासा निक्षेप हुनु सकारात्मक पक्ष हो। तर सुविधाजनक तरलताले खराब कर्जाको पहाड, पूँजी सीमा उल्लंघन र उच्च व्यवस्थापनबाट सिर्जित साख संकटलाई छोप्न सकेको छैन।

चार खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति र देशभर ३१२ शाखा भएको बैंकको रेटिङसमेत घट्नु सामान्य वित्तीय उतारचढाव मात्र होइन। खराब कर्जा नियन्त्रण, असुली, पूँजी पुनर्स्थापना र विवादास्पद कर्जाको निरूपणमा तत्काल सुधार नभए प्रभु बैंकमाथि नियामकीय तथा वित्तीय दबाब अझ चर्किने इक्राको प्रतिवेदनले स्पष्ट संकेत गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.