सोमबार, भाद्र २२,२०८३ 12:18:20
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 12:18:20
Bizshala
Global IME Bank Limited

मुक्तिनाथमा विलयको खबरसँगै सिन्धुको सेयरमा पहिरो, दुई मिनेटमै १५ प्रतिशत लोअर सर्किट

मुक्तिनाथमा विलयको खबरसँगै सिन्धुको सेयरमा पहिरो, दुई मिनेटमै १५ प्रतिशत लोअर सर्किट
New Office

काठमाण्डौ। मुक्तिनाथ विकास बैंकमा विलय हुने प्रारम्भिक सम्झौता गरेको सिन्धु विकास बैंकको सेयरमूल्यमा सोमबार कारोबार खुलेलगत्तै पहिरो गएको छ।

कारोबार सुरु भएको दुई मिनेटभित्रै सिन्धु विकास बैंकको दोस्रो बजार मूल्यमा १५ प्रतिशतको नकारात्मक सर्किट लागेको हो। मुक्तिनाथमा अपेक्षाभन्दा निकै कम स्वाप रेसियोमा विलय हुन लागेको सूचना बजारमा फैलिएपछि सिन्धुको सेयरमा एकाएक उच्च बिक्री चाप देखिएको बजारका जानकारहरू बताउँछन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यो समाचार तयार पार्दासम्म सिन्धु विकास बैंकको ५७ हजार हाराहारी कित्ता सेयर बिक्रीमा राखिएको छ। तर खरिदतर्फ भने कुनै पनि आदेश देखिएको छैन। बिक्रीकर्ताको लामो पङ्क्ति लाग्दा सेयरधनी बाहिरिन चाहेर पनि बिक्री गर्न नसक्ने अवस्थामा पुगेका छन्।

दोस्रो बजारमा मुक्तिनाथ विकास बैंकको सेयर प्रतिकित्ता करिब ३५५ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ। सिन्धु विकास बैंकलाई यही संस्थामा न्यून स्वाप रेसियोमा समाहित गर्न लागिएको चर्चा फैलिएपछि सिन्धुका लगानीकर्ता आत्तिएको देखिन्छ।

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेको खबर सोमबार बिहान सार्वजनिक भएको थियो। तीन संस्थाबीच सम्झौता भए पनि कुन संस्थालाई कति स्वाप रेसियोमा प्राप्ति गरिने हो भन्ने विषय औपचारिक रूपमा खुलाइएको छैन।

अनौपचारिक स्रोतले भने सिन्धु र जानकी दुवैलाई बजारको अपेक्षाभन्दा कम मूल्याङ्कनमा प्राप्ति गर्ने समझदारी भएको बताएका छन्। यही सूचनाका आधारमा लगानीकर्ताले सम्भावित स्वाप रेसियोको जोखिम मूल्याङ्कन गर्दै सेयर बिक्री गर्न खोजेको अनुमान गरिएको छ। यद्यपि डीडीए सम्पन्न नभएसम्म र संस्थाहरूले आधिकारिक निर्णय सार्वजनिक नगरेसम्म वास्तविक स्वाप रेसियो यकिन हुँदैन।

जानकीमा पनि उच्च गिरावट

मुक्तिनाथमा प्राप्ति हुन लागेको अर्को संस्था जानकी फाइनान्सको सेयरमूल्यमा पनि तीव्र गिरावट आएको छ। यसको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेर प्रतिकित्ता करिब ३४० रुपैयाँ हाराहारीमा झरेको छ।

जानकी फाइनान्सको निष्क्रिय कर्जा ६१.५५ प्रतिशत पुगेको छ भने पुँजीकोष अनुपात ऋणात्मक ६.१४ प्रतिशत छ। सञ्चित नोक्सानीका कारण संस्थाको कुल इक्विटीसमेत ऋणात्मक बनेको छ। कमजोर वित्तीय अवस्थाका कारण जानकीलाई सिन्धुको तुलनामा अझ कम मूल्याङ्कनमा मुक्तिनाथले प्राप्ति गर्न लागेको बजार चर्चा छ।

तर हालसम्म कुनै पनि संस्थाले स्वाप रेसियो सार्वजनिक गरेका छैनन्। त्यसैले बजारमा फैलिएका सम्भावित अनुपात र मूल्याङ्कनसम्बन्धी विवरण औपचारिक रूपमा पुष्टि भएका छैनन्।

स्वाप रेसियो निर्धारण गर्दा संस्थाको चुक्तापुँजी वा दोस्रो बजार मूल्य मात्र नभई सम्पत्ति तथा दायित्वको यथार्थ मूल्याङ्कन, कर्जाको गुणस्तर, सम्भावित नोक्सानी व्यवस्था, सञ्चित नाफा–नोक्सानी, नेटवर्थ र डीडीए प्रतिवेदनलाई आधार बनाइन्छ। यही कारण प्रारम्भिक सम्झौतालगत्तै देखिएको बजार प्रतिक्रिया अन्तिम स्वाप अनुपातभन्दा लगानीकर्ताको आशङ्का र अनौपचारिक सूचनाबाट बढी निर्देशित देखिन्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.